आसन्न टान नेतृत्वमा अध्यक्षको उमेदवारी घोषणा गरेका सागर पाण्डेले पहिलो चरणमा तीनवटा एजेण्डा अघि सारेका छन् । उनले व्यवसायी तथा मजदुरका विषयलाई लिएर राहत तथा उद्धार अक्षयकोषको स्थापना गर्ने, कानूनी परामर्श इकाईको गठन गर्ने र बैंकिङ तथा भ्याट र ट्याक्स परामर्श इकाई गठनको कार्ययोजना अघि सारेका छन् । उनले आफ्ना ३ बुँदे कार्ययोजनामा सबै कर्मचारी तथा मजदुर साथीहरुका लागि राहत तथा उद्धार अक्षय कोषको स्थापना गर्ने बताएका छन् ।
पाण्डेले टान सदस्य कम्पनीको कर्मचारी, ट्रेकिङ गाइड वा मजदुर जुनसुकै वेला घाइते हुने, वा मृत्यू सम्म हुने अवस्था आइपर्ने उल्लेख गर्दै त्यस्तो समस्यामा उसलाई सहयोग गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित र व्यवहारिक बनाउन राहत प्रदान गर्नेगरी अक्षयकोष स्थापना गर्नु महत्वपूर्ण भएको उनले उल्लेख गरेका छन् । त्यसैगरी उनले व्यवसायीहरुलाई कुनै पनि बेला दिर्घकालीन रोग वा महंगो उपचार गर्नुपर्ने रोगहरु लागेको अबस्थामा अक्षय कोषले राहत दिने बताएका छन् ।
पाण्डेले टानमा एउटा अलगै विभागका रुपमा कानूनी परामर्श इकाइको आवश्यकता महसुस गरी कानूनी परामर्श इकाईको गठन गर्ने प्रतिबद्धता अघि सारेका छन् । यसबाट टानका साधारण सदस्यहरुले आफ्नो व्यवसाय सञ्चालनको क्रममा आइपर्ने कानूनी अड्चन, प्रशासननिक अप्ठ्याराहरु तथा अन्य कुनै किसिमको कानूनी परामर्श लिन पाउने उल्लेख छ । कानुनी समस्यालाई टानले सहजीकरण गरी समस्या समाधानका लागि पहल गर्ने उनले बताएका छन् ।
यसैगरी बैंकिङ तथा भ्याट र ट््याक्स परामर्श समितिको आवश्यकता पुरा गर्नेगरी बैंकिङ तथा भ्याट र ट्याक्स परामर्श इकाई गठनको अबधारण पनि उनले पहिलो चरणको आफ्नो योजनामा अघि सारेका छन् । ट्रेकिङ एजेन्सीज एसोसियन अफ नेपाल (टान) को आसन्न अधिवेशनमा अध्यक्षको घोषणा गरेका सागर पाण्डेले पहिलो चरणमा अघि सारेका योजनाहरु जस्ताको तस्तै यहाँ प्रस्तुत गरिन्छ ।
सागर पाण्डेले अघि सारेका पहिलो चरणका योजनाहरु :
विगतमा लामो समय टानको कार्यसमितिमा रहेर काम गर्नुका साथै महासचिव जस्तो महत्वपूर्ण जिम्मेवारीमा समेत रहेर मैले काम गरिसकेको यहाँहरुलाई अबगत नै छ । यहाँहरुकै अनुरोध सुझाव र सल्लाहकै आधारमा यसपटक टानको नेतृत्वका लागि अध्यक्ष पदमा मैले उमेद्वारी दिने निर्णय गरेको छु । त्यसो त भाषण र कुरा भन्दा पनि काम नै गर्नुपर्छ भन्ने मेरो मान्यता छ । टानको नेतृत्वका लागि अध्यक्ष पदमा उमेद्वारी दिँदै गर्दा मैले टानमा गएर तत्काल गर्नुपर्ने पहिलो चरणका तीनवटा एजेण्डाहरु अघि सारेको छु ।
१.राहत तथा उद्धार अक्षयकोषको स्थापना
सबैभन्दा पहिले सबै कर्मचारी तथा मजदुर साथीहरुका लागि राहत तथा उद्धार अक्षय कोषको स्थापना गर्ने छु । कुनै पनि सदस्य कम्पनीको कर्मचारी, ट्रेकिङ गाइड वा मजदुर जुनसुकै वेला जुनसुकै समस्यामा पर्दा उसलाई सहयोग गर्नुपर्छ भन्ने मान्यतालाई स्थापीत र व्यबहारिक बनाउन राहत प्रदान गर्नेगरी अक्षयकोष स्थापना गर्नु महत्वपूर्ण ठानेको छु । त्यसका अतिरिक्त टानका सदस्य व्यवसायीहरुलाई कुनै पनि बेला दिर्घकालीन रोग वा महंगो उपचार गर्नुपर्ने रोगहरु लागेको अवस्थामा सोही कोषबाट राहत उपलव्ध गराइने यस कोषको लक्ष रहेको छ ।
कतिपय व्यबसायीहरु महंगो उपचार गर्नुपर्ने रोग लागेको अबस्थामा अहिले पनि उपचारबाट बंचित हुनुपर्ने अबस्था छ । त्यसो हुन नदिनका लागि यस कोषले व्यबसायीलाई सहयोग गर्ने छ । मुलत व्यबसायी र कर्मचारी दुवै पक्षलाई फरक ढंगको राहतका राहत तथा उद्धार अक्षयकोषको स्थापना गर्ने लक्ष्य लिएको छु । एकवर्षभित्र कम्तिमा एक करोड बराबरको अक्षय कोषको व्यवस्थापन गरिने छ । यसको सुरुवाति एककरोड बजेट घोषणा गर्दछु । त्यसबारेमा अवधारणा बनाएर अघि बढ्ने कुरा यहाँ उल्लेख गर्न चाहन्छु ।
किन आवश्यक छ अक्षय कोष ?
टानमा आबद्ध सदस्य कम्पनीहरुमा कार्यरत पथ प्रदर्शक, अन्य सहयोगीहरु वा कुनै पनि कर्मचारी कुनै पनि समयमा समस्यामा पर्न सक्छ । प्राकृतिक रुपमा पदयात्राको क्रममा घाइते, बिरामी वा मृत्यु भएमा टानले त्यस्तो अबस्थामा राहत प्रदान गर्न जरुरी छ । जति वेला टानको समन्वयनमा अक्षय कोषले राहत प्रदान गर्ने छ ।
यसरी समन्वय गर्दा टान, सम्बन्धित ट्रेकिङ कम्पनी र पीडित पक्षबीचको समझदारी अनुरुपको क्षतिपूर्ति रकम पीडित पक्षलाई दिने व्यवस्था मिलाइनेछ । यस्तो सहमति गर्दा कानूनी सल्लाहकार टानबाट नै राख्ने व्यवस्था गरिने छ । तर टानका साधारण सदस्यहरुले पदयात्रमा काम गर्ने सम्पूर्ण कर्मचारीहरुको नेपाल सरकार श्रम ऐनले तोके बमोजिमको बीमा भने गरेको हुनुपर्नेछ । कोषको स्थापना सञ्चालन र वितरण विस्तृत कार्य विधिमा ल्याइनेछ । त्यसैगरी व्यवसायीको हकमा महंगो उपचार गर्नुपर्ने रोगहरु लागेको अबस्थामा र दिर्घकालीन रोगहरु लागेको अवस्थामा ती सदस्य व्यवसायीलाई उपचारका लागि राहत उपलव्ध गराउने पनि यस कोषको लक्ष रहेको छ ।
२.कानूनी परामर्श इकाईको गठन
टानमा एउटा अलग्यै विभागका रुपमा कानूनी परामर्श इकाइको आबश्यकता महसुस गरि कानूनी परामर्श इकाईको गठन गर्ने प्रतिबद्धता अघि सारेको छु । यसबाट टानका साधारण सदस्यहरुले आफ्नो व्यवसाय सञ्चालनको क्रममा आइपर्ने कानूनी अड्चन, प्रशासननिक अप्ठ्याराहरु तथा अन्य कुनै किसिमको कानूनी परामर्श लिन पाउनेछन् । समस्या हेरि टानले नै सहजीकरणसँगै समस्या समाधानका लागि पहल गर्नेछ ।
यस्तो व्यवस्थाले नयाँ वा भर्खर–भर्खर व्यवसाय सञ्चालन गरेका युवा तथा मेहनती उद्यमीहरुलाई विशेष सहयोग पुग्नेछ भने अरुलाई पनि सहजिकरण हुने छ । व्यवसाय गर्दा कतिपय कानूनी कुराहरुको ज्ञान नहुन सक्छ जसका लागि कुनै पनि कार्यमा कानूनी परामर्श जरुरी हुन्छ । कानूनी रुपमा कुनै पनि अफ्ठ्यारो अवस्था सृजना नहोस् भनेर यस्तो कानूनी इकाई गठन गरी समन्वयन तथा सहजीकरण गर्नुका साथै आवश्यक परामर्श उपलव्ध गराउन कानूनी परामर्श इकाई गठन गरिने छ ।
३ बैंकिङ तथा भ्याट र ट्याक्स परामर्श इकाई
यसैगरी बैंकिङ तथा भ्याट र ट्याक्स परामर्श समितिको आवश्यकता पुरा गर्नेगरी बैंकिङ तथा भ्याट र ट्याक्स परामर्श इकाई गठनको अबधारण पनि मैले अघि सारेको छु । प्रत्येक आर्थिक वर्षको अन्त्यमा ट्याक्स/भ्याटको सीमा तथा नियमहरुमा फेरबदल भइरहने हुनाले कतिपय व्यवसायीहरु अलमलमा पर्ने तथा समस्यामा पर्ने गरेका छन् ।
त्यसका साथै बैंकिङ क्षेत्रसँग जोडिएको कर्जा, व्याज तथा अन्य परामर्शमा पनि यस समितिले सहयोग गर्ने छ । यस इकाई समितिले भ्याट, ट्याक्स तथा बैंकिङ क्षेत्रका बारे जानकारी गराउने, परामर्श दिने तथा आवश्यक प्रकृया पुरा गर्नमा सहजिकरण गर्ने र सम्बन्धित समस्या समाधानमा सहयोग गर्ने छ । यसबाहेक अन्य मेरा एजेण्डाहरु विस्तृत रुपमा केहीदिनमा यहाँहरु समक्ष ल्याउने छु ।
धन्यवाद
सागर पाण्डे, अध्यक्षको उमेद्वार
ट्रेकिङ एजेन्सीज एसोसियन अफ नेपाल (टान)