सिड्नी, अष्ट्रेलिया – एनआरएनए (गैरआवासीय नेपाली संघ) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि भैरवप्रसाद ढकालले अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्नुभएको छ।
ढकालले एनआरएनए अष्ट्रेलियालाई एक सक्षम, पारदर्शी र सहभागी संस्था बनाउने लक्ष्यसहित उम्मेदवारी दिनुभएको हो। उहाँले विश्वास र एकताको पुनर्स्थापना, व्यावसायिकता, सुशासन, तथा मूल्यमान्यता आधारित संस्थागत संरचना विकासमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँको चुनावी दृष्टिकोणमा युवा, महिला तथा कम प्रतिनिधित्व प्राप्त समुदायहरूको समावेशी सहभागिता सुनिश्चित गर्ने नीति प्रमुख स्थानमा रहेको छ। साथै, एनआरएनए अष्ट्रेलियाको संस्थागत उपस्थिति र प्रभावलाई विश्वव्यापी बनाउने उद्देश्य राख्दै, नेपाल सरकारसँग व्यावहारिक तथा मापनयोग्य डायस्पोरा-मैत्री नीतिहरूको वकालत गर्ने योजना पनि उहाँले सार्वजनिक गर्नुभएको छ।
भैरव ढकालले एनआरएनए अष्ट्रेलियालाई पारदर्शिता र नवीनताको आधारमा नयाँ ढाँचामा अगाडि बढाउने संकल्प गर्नु भएको छ। उहाँका अनुसार, एनआरएनए अष्ट्रेलियालाई समावेशी, जवाफदेही र नेतृत्वदायी संस्थाका रूपमा स्थापित गराउने अभियानमा सबै नेपालीलाई साथ दिन आग्रह समेत गरिएको छ।
हाल एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) का सल्लाहकार रहनुभएका ढकाल विगतमा एनआरएनए अष्ट्रेलियामा उपाध्यक्ष र सल्लाहकारका रूपमा कार्यरत रहनु भएको थियो। सामाजिक अभियन्ता तथा रेष्टुरेन्ट व्यवसायीका रूपमा लामो समयदेखि अष्ट्रेलियामा सक्रिय रहनुभएका ढकालले प्रवासी नेपाली समुदायको समृद्धि, अधिकार र सहभागिता अभिवृद्धि गर्न निरन्तर योगदान पु-याउँदै आउनुभएको छ।
उहाँको उम्मेदवारीले आगामी कार्यकालमा एनआरएनए अष्ट्रेलियाभित्र नयाँ सोच, स्पष्ट दिशा र सशक्त नेतृत्वको अपेक्षा गरिएको छ।
