Friday, November 20

‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२६’ घोषणा, असार २० देखि अडिसन सुरु

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा विगत एक दशकदेखि सञ्चालन हुँदै आएको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२६’ को नयाँ संस्करण घोषणा गरिएको छ।

राजधानीको सिटी सेन्टरमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष तथा सेलिब्रेटी मेकअप आर्टिस्ट टेकराज पाण्डेले यस वर्षको संस्करणलाई अझ भव्य, व्यवस्थित र प्रभावकारी बनाइने बताए।

उनले सौन्दर्य प्रतियोगिता केवल ताज जित्ने प्रतिस्पर्धा मात्र नभई व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा जीवनका नयाँ अवसरहरू सिर्जना गर्ने सशक्त मञ्च भएको उल्लेख गरे। दक्ष इन्टरनेशनलले महिलाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको र प्रतियोगिताले धेरै प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।

यस वर्ष ‘मिस व्यूटिफुल नेपाल’को ११औँ तथा ‘मिसेस व्यूटिफुल नेपाल’को १०औँ संस्करण आयोजना हुन लागेको हो। प्रतियोगिताको अडिसन तथा छनोट प्रक्रिया असार २० गतेदेखि सुरु हुनेछ भने ग्राण्ड फिनाले श्रावण ३० गते राष्ट्रिय नाचघरमा आयोजना गरिनेछ।

पत्रकार सम्मेलनमा वरिष्ठ अभिनेता धिरेन शाक्य, वरिष्ठ गायक आनन्द कार्की, अफिसियल कोरियोग्राफर आश्विनी कान्त झा, सामाजिक अभियन्ता रमेश बुढाथोकी, स्वास्थ्य व्यवसायी तथा समाजसेवी प्रह्लाद चौहान, अफिसियल मेकअप पार्टनर चन्दा पुन, फेसन डिजाइनर दिना गुरुङ, फोटोग्राफर बद्री थापा तथा कानुनी सल्लाहकार स्वागत नेपाललगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा गत वर्षका विजेताहरूलाई प्रमाणपत्रसहित सम्मान पनि गरिएको थियो।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी महिलाहरूलाई व्यक्तित्व विकास, नेतृत्व क्षमता, सार्वजनिक बोलाइ, सञ्चार सीप, आत्मविश्वास निर्माण, फेसन तथा ग्रुमिङ र सामाजिक उत्तरदायित्वजस्ता विषयमा करिब एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिनेछ।

विवाहित तथा अविवाहित दुवै महिलाका लागि खुला प्रतियोगिताले उनीहरूलाई आफ्नो प्रतिभा उजागर गर्ने, सामाजिक तथा व्यावसायिक सञ्जाल विस्तार गर्ने तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चमा पहिचान स्थापित गर्ने अवसर प्रदान गर्ने विश्वास आयोजकको छ।

कार्यक्रमको इभेन्ट म्यानेजरमा गीता उप्रेती, बजार व्यवस्थापकमा मेघ बहादुर विश्वकर्मा (मेघेन्द्र) तथा कोअर्डिनेटरमा कविता थापा रहेका छन्। प्रतियोगिताको प्रत्यक्ष प्रसारण विभिन्न टेलिभिजनमार्फत गरिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *