पोखरा । बज्रयोगिनी डान्स एण्ड म्युजिक एकेडेमीको आयोजनामा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा ‘एसईई डान्स च्याम्पियनसिप–२०८३’, ‘किड्स डान्स च्याम्पियनसिप सिजन–१ (गण्डकी प्रदेश)’ तथा ‘स्रष्टा सम्मान’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङको प्रमुख आतिथ्यता तथा कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, कलाकार, समाजसेवी, शिक्षाविद्, अभिभावक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतिभा, कला, संस्कृति र सिर्जनशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाका बालबालिका तथा युवाहरूले आकर्षक नृत्य प्रस्तुति दिएका थिए। आयोजकका अनुसार कार्यक्रमले कला क्षेत्रको विकाससँगै नयाँ पुस्तालाई प्रोत्साहन प्रदान गरेको छ।
किड्स डान्स च्याम्पियनसिप सिजन–१ मा योजना कश्यप विजेता घोषित भइन्। इभा गुरुङ प्रथम उपविजेता, अनुष्का कुमाल द्वितीय उपविजेता, आयुष्मा पुलामी मगर तृतीय उपविजेता तथा करिश्मा गुरुङ चतुर्थ उपविजेता बने। योजना कश्यपले पब्लिक च्वाइस अवार्ड समेत जितिन्। ओशिका गुरुङ ‘मोस्ट इनर्जेटिक पर्फर्मर’, इशाना श्रेष्ठ ‘बेस्ट स्किल’ र प्रनिशा बस्नेत ‘बेस्ट एक्सप्रेसन’ अवार्डबाट सम्मानित भए भने राम लामा ‘बेस्ट कोरियोग्राफर’ घोषित भए।
त्यसैगरी एसईई डान्स च्याम्पियनसिप–२०८३ मा नमुना गुरुङ विजेता, दीपेश सुनार प्रथम उपविजेता तथा साजन राना मगर द्वितीय उपविजेता बने।
प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिएको थियो। साथै उत्कृष्ट स्थान हासिल गर्ने प्रतियोगीहरूले कक्षा ११ र १२ अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् भने अन्य फाइनलिस्टहरूलाई ५० प्रतिशत छात्रवृत्ति सुविधा उपलब्ध गराइएको आयोजकले जनाएको छ।
कार्यक्रमकै अवसरमा वरिष्ठ गीतकार, संगीतकार तथा साहित्यकार पद्मराज ढकाल, वरिष्ठ नृत्य निर्देशक केशबहादुर गुरुङ, अधिवक्ता तथा सामाजिक अभियन्ता अञ्जनी परियार ‘प्यासी’ तथा साहसी महिला मैया नेपालीलाई ‘स्रष्टा सम्मान’ प्रदान गरिएको थियो।
एकेडेमीका अध्यक्ष महेश गोदारले यस्ता प्रतियोगिताले बालबालिका तथा युवाहरूको प्रतिभा उजागर गर्नुका साथै नेपाली कला, संस्कृति र सिर्जनशीलताको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गरिने जानकारी पनि दिए।
कार्यक्रममा सहभागी प्रतियोगी, प्रशिक्षक, अभिभावक, अतिथि, प्रायोजक, सञ्चारमाध्यम तथा सहयोगी संस्थाप्रति आयोजकले आभार व्यक्त गरेको छ।
