बाढी पहिरो र डुबानका चपेटामा परेका १५ भन्दा बढी जिल्लामा पानीजन्य एवं स्वास–प्रस्वाससम्बन्धी रोग संक्रमणको जोखिम रहेकाले सजग रहन विज्ञहरूले सुझाएका छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार बाढी पहिरोपछि पानीजन्य र स्वास–प्रस्वासजन्य समस्या देखिन सक्ने बताए। ‘सामूहिक बसाइका क्रममा स्वास्थ्य मापदण्ड नअपनाउँदा कोरोना संक्रमण, रुघाखोकीको जोखिम हुन्छ। त्यस्तै सरसफाइको कमीले पानीजन्य रोगको डर उत्तिकै डर छ,’ डा. पुनले भने।
बाढी पहिरो र डुबान क्षेत्रमा पानीको गुणस्तर र स्वच्छतातर्फ ध्यान दिन नसकिएको उनले बताए। पानीको स्रोत दूषित हुँदा झाडापखाला, आउँ, टाइफाइड, हैजा, भाइरल हेपाटाइटिस ‘ए’लगायत पानीजन्य सरुवा रोगको जोखिम बढ्ने डा. पुनको भनाइ छ। उनका अनुसार विस्थापितहरूको एकै ठाउँमा सामूहिक बसाइ भएका बेला स्वास्थ्य मापदण्ड पालना नहुने र सरसफाइको कमीले रोगहरू निम्तिन्छन्।
विस्थापित भएका पीडित परिवारलाई सुरक्षित स्थानमा सारी तत्काल अस्थायी व्यवस्थापन गरिएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा अर्घाखाँची, कास्की, प्युठान, पर्वत म्याग्दी, डोटीलगायतका जिल्ला बढी प्रभावित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उद्धार तथा राहत कार्यमा जुट्दा जनस्वास्थ्य मापदण्ड पालना गर्न र सफा पिउने पानीको प्रबन्ध गर्न अनुरोध गरेको छ। विषम परिस्थितिमा घाइते, संक्रमित तथा प्रभावितहरूको उपचारका लागि आवश्यक सबै प्रबन्ध मिलाउने कार्य भइरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै बाढी पहिरोको जोखिमसँगै कोरोना भाइरसको संक्रमण, पानीजन्य रोगहरू, लामखुट्टेले ल्याउने रोगहरूका साथै सरसफाइसम्बन्धी जनस्वास्थ्यका समस्याहरू बढ्नेतर्फ सजग रहनुपर्नेमा जोड दिइएको छ।
उपयुक्त गासबासको व्यवस्थासँगै लामखुट्टेको टोकाइबाट बच्ने उपायहरूमा ध्यान दिन विज्ञप्तिमार्फत भनिएको छ।
स्वास्थ्य सुरक्षाका लागि आवश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मी व्यवस्थापनका लागि स्थानीय जिल्ला स्वास्थ्य कार्यालय, प्रदेशका सम्बन्धित निकायहरूमार्फत स्वास्थ्य आपतकालीन केन्द्रहरूले समन्वयको व्यवस्था गरिरहेकाले सुरक्षित रहन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।
