सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद निष्कर्ष उन्मुख भएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको विवाद समाधानका लागि गठित कार्यदलको बैठकले पार्टी एकताका लागि तयार गरेको मस्यौदामा सहमति जुटाएको हो । सहमति जुटेको मस्यौदालाई शनिबार अन्तिम रुप दिने नेताहरुले जनाएका छन् । बैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताए ।
त्यस्तै एमाले नेता गोकर्ण बिष्टले लामो छलफलपछि धेरै विषयमा सहमति जुटेको बताए । उनले केही विषयमा शनिबार छलफल हुने बताए । उनले लगभग सहमतिमा पुगेको जानकारी दिए ।
कार्यदलको मस्यौदाले अन्तिम रुप पाएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालसमक्ष पेश गरिनेछ । एमालेको विवाद समाधानका लागि कार्यदल विगत केही दिनदेखि निरन्तर छलफलमा जुट्दै आएको छ ।
