कोरोनाभाइरस संक्रमण महामारीले माध्यामिक शिक्षा परीक्षाको वैकल्पिक उपाय अवलम्बन गरिन थालिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले तत्काल सहज अवस्था नहुने भएकाले एसईईको परीक्षा वैकल्पिक विधिबाट गराउनुपर्ने भन्दै अनुमति मागेपछि शिक्षा मन्त्रालयले सोहीअनुसार मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने भएको छ ।
सोमबार बसेको मन्त्रालयको बैठकले एसईई आन्तरिक मूल्यांकन विधिअनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको हो ।
अघिल्लो वर्ष पनि आन्तरिक मूल्यांकन विधिबाट एसईईको परीक्षा नतिजा सार्वजनिक गरिएको थियो । यस वर्ष पनि सोही विधि अवलम्बन गर्नुपर्ने प्रस्ताव मन्त्रालयले मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको हो ।
यसअघि बोर्डले एसईई परीक्षा जेठ १३ गतेदेखि गर्ने गरी कार्यतालिका सार्वजनिक गर्दै प्रश्नपत्र छपाइको काम सकेको थियो । तर, कोरोनाभाइरस संक्रमण महामारीका कारण परीक्षा स्थगित गरिएको हो । एसईई परीक्षाका लागि ५ लाख १७ हजार विद्यार्थी तयारी अवस्थामा छन् ।
