काठमाण्डौ, असार २१
ग्यालेक्सी दैनिक
नेपाली सङ्गीतको इतिहासमा लेखन, सङ्गीत र गायनको संयुक्त रूपमा प्रतियोगिता हुँदै आएको भएपनि विशुद्ध सङ्गीत प्रतियोगिता पहिलोपटक सम्पन्न भएको छ ।
नेपाली सङ्गीतको विकास र विस्तारको अभियानमा नेपालमा पहिलोपटक सङ्गीत प्रतियोगिता राजधानीमा एक समारोहका बीच सम्पन्न भएको छ ।
प्रसाईसन इन्टरटेनमेन्टले आह्वान गरेको राष्ट्रव्यापी प्रसाईसन सङ्गीत प्रतियोगितामा देशभरीबाट २६ जना सङ्गीत विधाका प्रतिभाहरुले भाग लिएका थिए ।
गीतकार, गजलकार चन्द्र प्रसाईं परिष्कृतको शब्दमा `म आफैँ रुझेकी जोवनले रुझायो बोकको गीतमा उदयपुरका इन्द्र आर.पी., सङ्खुवासभाका केशव अधिकारी, चितवनका जी.बी. सुनार, सुनसरीका पासङ तामाङ र बाँकेका सुजन थारु रहेका थिए ।
उत्कृष्ट ५ मध्येका चितवनका जी.बी. सुनार प्रथम भएका छन् । प्रतियोगितामा प्रथम भएका सङ्गीतकारलाई नगद ५० हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियोे ।
समारोहमा गीतकार चन्द्र प्रसाई `परिस्कृत´ले अमेरिकाबाट पठाएको भिडियो सन्देश प्रसारण गरिएको थियोे । उनले सबैलाई धन्यवाद दिँदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । यो कार्यक्रमलाई वार्षिक रूपमा अगाडि बढाउने जानकारी गराएका थिए ।
कार्यक्रमको निर्णायकमा वरिष्ठ गायक आनन्द कार्की, विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ र लोकप्रिय गायिका प्राश्ना शाक्य रहेका थिए ।
पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि वरिष्ठ कवि, गीतकार दिनेश अधिकारी, विशिष्ट अतिथि पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र लेखक, निर्देशक मोहन निरौला, अग्रज पत्रकार तुलसी गिरि भावुक, सानुकाजी श्रेष्ठ, कलाकार उत्तम के.सी., चलचित्र पत्रकार संघका उपाध्यक्ष जीवन पराजुली, म्युजिक भिडियो निर्देशक समाजका उपाध्यक्ष देवेन्द्र पाण्डे, कवि, निर्देशक हेमप्रभास र निर्णायकहरू वरिष्ठ गायक कार्की, विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ र लोकप्रिय गायिका प्राश्ना शाक्य रहेका थिए ।
