प्रधानमन्त्री शेर बहादुर देउवा ले संसद्बाट विश्वासको मत पाएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री देउवाले विश्वासको मत पाएको जानकारी दिएका हुन् । बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिइयोस् भनेर राखेको प्रस्तावको पक्षमा बहुमत सांसदले मत दिएका छन् ।
कूल २४९ खसेको मतमध्ये विश्वासको मतको पक्षमा १६५ र विपक्षमा ८३ मत खसेको सभामुख सापकोटाले जानकारी दिए ।
विश्वासको मत पाएसँगै देउवा सरकारले निरन्तरता पाउने भएको छ । गत असार २९ गते संविधानको धारा ७६ (५)अनुसार नियुक्त प्रधानमन्त्री देउवाले छैटौँ दिनमै संसदबाट विश्वासको मत पाएका हुन् ।
प्रधानमन्त्री देउवालाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एमालेको नेपाल समूहका केही सांसदसहित राष्ट्रिय जनमोर्चाका सांसदहरुले विश्वासको मत दिएका छन् ।
देउवाले विश्वासको मत पाएसँगै दुई दुई पटक विघटन हुँदै पुनर्स्थापित गरिएको प्रतिनिधि सभा पनि जोगिएको छ । देउवाले विश्वासको मत नपाएको खण्डमा प्रतिनिधि सभा विघटन हुन सक्ने सम्भावना थियो । यसलाई टारेको छ, देउवाले विश्वासको मत पाएर ।
