गृहमन्त्रालयले बिहीबार नयाँ नेतृत्व पाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गरेको मन्त्रिपरिषद् पुनर्गठनमा खगराज अधिकारी गृहमन्त्री बन्न सफल भएका हुन् । उनी पूर्व स्वास्थ्य मन्त्री पनि हुन् ।
मुलुक कोरोनाभाइरस संक्रमण महामारीको चपेटामा र जनता भाइरस संक्रमण र आर्थिक अभावको समस्या परेका बेला स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालिसकेका अधिकारी गृहमन्त्री बनेका हुन् ।
गृहमन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहणपछि मन्त्री अधिकारीले निषेधाज्ञा खुकुलो पार्ने खाका पेश गर्न सर्कुलर जारी गरेका छन् ।
बाँकेमा गत वैशाख १३ र काठमाडौ उपत्यकामा वैशाख १७ गतेबाट जारी गरिएको निषेधाज्ञा अहिले मुलुकभरका जिल्लामा लगाइएको छ । जसले जनजीवन कष्टकर बन्दै गएको छ ।
पदभार ग्रहणसँगै नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयलाई १२ बुँदे परिपत्र गरेका छन् । जसमा कानुनविपरीतका कार्यमा कोही कसैसँग सम्झौता नगर्नदेखि निषेधाज्ञा खुकुलो बनाउने मोडालिटी पेश गर्न भनिएको छ ।
परिपत्रमा जनस्वास्थ्यका मापदण्डलाई पालना गर्दै निषेधाज्ञामा बन्द रहेका आर्थिक गतिविधि सुचारु गर्ने खाका पेश गर्न, अपराध नियन्त्रणमा कुनै पनि सम्झौता नगर्न, चुनावी रणनीति तयार पार्न र सरकारबाट सञ्चालित विकासे आयोजना समयमै सम्पन्न हुने गरी तदारुकताका साथ जिम्मेवारी निर्वाह गर्न प्रशासन र सुरक्षा निकायहरुलाई निर्देशन दिइएको छ।
‘हालसम्मको निषेध आदेश कार्यान्वयनको समीक्षा एवं जनस्वास्थ्यमा नकारात्मक असर नपर्ने गरी र स्वास्थ्य मापदण्ड पालना गर्दै आर्थिक गतिविधि अगाडि बढाउने सम्बन्धमा पूर्वतयारी अघि बढाउने’, गृहको परिपत्रमा उल्लेख छ।
यस्तै चुस्त सेवा प्रवाह, सीमा नाकाबाट स्वास्थ्य परीक्षण नगरी विदेशीलाई प्रवेश निषेध, विकास निर्माणका काममा हुने ढिलासुस्ती विरुद्ध प्रमुख जिल्ला अधिकारीमार्फत् अनुगमन र नियमनलाई पनि कडाइका साथ लागू गर्न निर्देशन दिइएको छ।
