राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको शान्ति सुरक्षा र बाढी पहिरो पीडितको अवस्थाबारे चासो व्यक्त गरेकी छन् ।
शुक्रबार अपरान्ह राष्ट्रपति भवन शीलत निवासमा गृहमन्त्री खगराज अधिकारीसहित चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर मुलुकको शान्ति सुरक्षा, बाढी पहिरो पीडितहरुको अवस्थाबारे राष्ट्रपति भण्डारीले जानकारी लिएकी हुन् ।
गृहमन्त्री खगराज अधिकारी, नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारीबाट राष्ट्रपति भण्डारीले ब्रिफिङ लिएकी हुन् ।
हालै सिन्धुपाल्चोक, मनाङलगायतका स्थानमा गएको बाढी पहिरोबाट केही मानिसले ज्यान गुमाएका छन् भने सयौँ घरबार बिहीन बनेका छन् ।
