मंगलबार आएको लेदोसहितको बाढीले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची बजार सखाप बनायो । सो बाढीले केहीको ज्यान लियो भने सयौँ परिवारलाई घरबार बिहीन बनायो ।
एक्कासि आएको लेदोसहितको बाढीले हेर्दाैहेर्दै घरहरु पुरिए भने मानिसहरु ज्यान जोगाउन डाँडातिर उक्लिनु परेको थियो । तर, यसरी बिनास गर्ने गरी लेदोसहितको बाढी कसरी आयो ? धेरैलाई चासो रहन सक्छ ।
प्राकृति प्रकोपमा परिरहने सिन्धुपाल्चोकका हेलम्बु र मेलम्ची सुरक्षित मानिएका बेला बितण्डा मच्चाउने गरी आएको बाढीले धेरैलाई करोडपतिबाट रोडपति बनाइदिएको छ । यसअघि यसरी सखाप बनाउने गरी बाढी नआएको स्थानीय बताउँछन् ।
मंगलबार मेलम्ची खोलाछेउको हेलम्बु नाकोटेका भन्ने स्थानमा पहिरो गएको थियो । सो क्रममा अम्दाथान, तिम्बु र तालामाराङसम्म २२ किलोमिटर बगेर लेदो बनेको र सोही बेला लार्के खोलाबाटै आएको बाढी इन्द्रावतीमा मिसियो ।
तत् पश्चात हेलम्बुबाट आएको लेदो र यांग्री लार्के खोलाबाट आएको बाढी एकै ठाउँमा करिब ७ घण्टा थुनिएर बस्यो । पछि सोही ताल फुट्दा हेलम्बु र मेलम्चीको बजारलाई सखाप बनाएको हो ।
