काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि लगाइएको निषेधाज्ञा एक साता थप गरिएको छ ।
आइतबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले खुकुलो बनाउँदै निषेधाज्ञा असार १४ गते मध्यरातसम्म गर्ने निर्णय गरेको हो । थपिएको निषेधाज्ञाको मोडालिटी केही परिवर्तन भएको छ । प्रशासनले बारको आधारमा व्यवसाय सञ्चालन गर्न दिने भएको छ ।
सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न सोमबार, बुधबार र शुक्रबार पाइने भएको छ । यस्तै सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान आइतबार, मंगलबार र बिहीबार खोल्न पाइने भएको छ ।
यस्तै तरकारी, खाद्यान्न र फलफूलका पसल बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ । उपत्यकामा गत वैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञा भोलि सोमबारबाट सकिँदैछ । यस्तै सवारीसाधनमा जोरबिजोर प्रणालीको आधारमा सञ्चालन गर्न पाइने भएको छ ।
