काठमाडौं, साउन १६
ग्यालेक्सी दैनिक
कुशल सञ्चाकर्मी तथा गीतकार गीता अधिकारीको शब्द रचनामा रहेको मौलिक तीज गीत “छम्म छम्म नाचौ न”को भिडियो सार्वजनिक भएको छ ।
नारायण रिजालको निर्देशन रहेको तिज गीतको भिडियोमा सारिका घिमिरे, रश्मी भट्ट, रेनुका रिजाल, सुस्मिता लामा, संगीता श्रेष्ठ, आरती थापा मगर, सुस्मिता पौडेल सहित ६० जनाभन्दा बढी कोरस प्रयोग गरिएको छ ।
शान्तिश्री परियार र सारिका घिमिरेको स्वर, योगेशकाजीको संगीत एवं एरेञ्ज, पवन विश्वकर्माको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियोमा सात दिदी, बहिनीको कथा प्रस्तुत गर्न खोजिएको छ जसमा रोशन बुढाथोकीको कोरियोग्राफी रहेको छ ।
वरिष्ठ गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यता र वरिष्ठ संगीतकार राजु सिंहको सभापतित्वमा भएको कार्यक्रममा विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, साहित्यकार शैलेन्द्र चापागाईं, सञ्चारकर्मी सानुकाजी श्रेष्ठ, कृष्ण भुषाल, तुलसी गिरी ‘भावुक’ लगायतका व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथी ज्ञानु राणा र संगीतकार राजु सिंहले अहिलेको समयमा पनि मौलिक तीज गीत र भिडियो बनेकोमा यससंग सम्बन्धित सबैलाई बधाई तथा शुभकामना दिएका थिए ।
सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीका यसअघि ‘यतै घमाइलो उतै घमाइलो’, ‘बजाउँदै चुरा’, ‘तिजैमा व्रत बसी’ जस्ता तिज गीत सार्वजनिक भइसकेका छन् ।
