न्युयोर्क, अमेरिका — नेपाली राजनीतिमा युवाशक्ति र राष्ट्रवादी विचारधाराका प्रखर प्रवक्ता मानिनु भएका राप्रपा नेपालका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य माननीय ज्ञानेन्द्र शाही अब अमेरिकी भूमिमा नेपाली समुदायसँग प्रत्यक्ष संवाद गर्ने तयारीमा छन्।
आगामी अगस्ट ९, २०२५ (शनिवार) साँझ, न्युयोर्कको क्विन्सस्थित सत्य नारायण मन्दिरको सभाहलमा एक भव्य “मिट एण्ड ग्रिट” तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको छ। प्रवासी नेपालीको सक्रिय सहभागिता र उत्साहजनक सहभागितालाई ध्यानमा राख्दै हिमानी ट्रष्ट अमेरिका – न्युयोर्क ब्युरो, प्रवासी नेपाली एकता समाज (पानस) र दर्शन ठकुरी समाज न्युयोर्कको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न हुने भएको हो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहनु हुने सांसद शाहीसंगको यो भेटघाट कार्यक्रममा, अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका व्यक्तिहरूले राजनीतिक अवस्था, राष्ट्रियता, धर्म र संस्कृति संरक्षण, प्रवासी नेपालीको हकहित, र नेपालको समसामयिक अवस्थाबारे प्रत्यक्ष प्रश्न गर्न, संवाद गर्न र आफ्ना जिज्ञासाहरू राख्न पाउनेछन्।
नेपालभित्र र बाहिर रहेका नेपाली जनमानसका बीचमा लोकप्रियता कमाएका ज्ञानेन्द्र शाहीको वक्तृत्व कला र राष्ट्रप्रेमले विगत केही वर्षयता नयाँ राजनीतिक चेतना जगाएको छ। स्वाभिमान, पारदर्शिता र हिन्दू राष्ट्र पुनस्थापनाका लागि आवाज उठाउँदै आएका शाही, विशेषगरी युवा पुस्ताबीच लोकप्रिय छन्।
कार्यक्रममा नेपाली समुदायका अगुवाहरू, सामाजिक अभियन्ताहरू, विद्यार्थी, युवा नेता, तथा संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ। आयोजक संस्थाहरूले कार्यक्रमलाई सफल बनाउन बृहत तयारी थालेका छन्।
यो कार्यक्रम प्रवासी नेपाली समुदाय र मातृभूमिबीचको भावनात्मक सम्बन्ध अझ सशक्त बनाउने उद्देश्यले आयोजना गरिएको आयोजकहरूले बताएका छन्।
कार्यक्रम विवरण:
-
मिति: अगस्ट ९, २०२५ (शनिवार)
-
समय: साँझ (ठिक समय आयोजकले पछि खुलाउने)
-
स्थान: सत्य नारायण मन्दिर सभाहल, क्विन्स, न्युयोर्क
-
आयोजकहरू: हिमानी ट्रष्ट अमेरिका – न्युयोर्क ब्युरो, प्रवासी नेपाली एकता समाज (पानस), दर्शन ठकुरी समाज न्युयोर्क
सहभागी हुन चाहनेहरूलाई समयमै उपस्थित भई कार्यक्रमलाई सफल बनाउन अनुरोध गरिएको छ। नेपाली भर्चुअल मञ्चहरूमा शाहीको आगमनबारे चर्चा चुलिएको छ, जुनले यो कार्यक्रमले विशेष चर्चा बटुल्ने संकेत दिइसकेको छ।
