पाचौं संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८० हुने भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको पाचौं संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा टोखा नगरपालिकाको सहकार्य रहेको छ भने सहारा ग्रुपले टाइटल स्पोन्सर गरेको छ । सहारा ग्रुपले सहारा राइड सेयरिङ एप, सहारा टेक्नोलोजी सञ्चालन गर्दै आएको छ । ज्योति विकास बैंक प्रस्तुतकर्ताको रुपमा रहेको छ ।
सगरमाथा म्युजिक अवार्डका चार संस्करण भब्य रुपमा सम्पन्न भइसकेका छन् । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने म्रल नाराको साथ हुन लागेको अवार्डमा २०७९ वैशाखदेखी चैत्रसम्म बजारमा आएका गीत सङ्गीतले सहभागीता जनाउन सक्ने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिनुभयो । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्ड संयोजक मनोज थापा बताउनुहुन्छ ।
सहारा ग्रुप पाचौं सगरमाथा म्युजिक अवार्ड २०८० मा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधामा देशभरका कलाकर्मीहरूले सहभागी हुन सक्ने जनाइएको छ ।
आयोजकका अनुसार अवार्डमा नेपाली गीतसङ्गीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ । गीत सङ्गीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने सङ्गीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारहरूलाई समेत सम्मान गरिने आयोजक संस्था अर्थ नेपाल प्रालिले जनाएको छ ।
त्यस्तै एक जना अग्रज रङ्ग पत्रकारलाई नगदसहित रजत पत्रकारिता सम्मान गरिने छ । अवार्डको आवेदन फारम सगरमाथा म्युजिक अवार्डको अफिसियल वेवसाइटबाट भर्न सकिने आयोजकले उल्लेख गरेको छ ।
