काठमाण्डौँ, पौष २८
ग्यालेक्सी दैनिक
मोडलिङ क्षेत्रमा रोहित जोशीको निरन्तरता चलिरहेको छ । जोशी मोडलिङ क्षेत्रमा पछिल्लो समय निकै लोकप्रिय बन्दै गएका छन् ।
उनको मिहेनत, प्रतिभा, लगनशीलता, धैर्यता र निरन्तरताका कारणले नै उनले यो सफलता हासिल गरेका हुन् ।
उनी मोडलिङ क्षेत्रमा मात्र सिमित रहेका छैनन् । चलचित्र निर्माणको तयारीमा समेत जुटेका छन् । मोडलिङ सँगसँगै अभिनय, ब्यबसाय, समाज सेवा लगायतमा पनि संलग्न रहेको छ उनको ।
नेपाली म्युजिक भिडियोको क्षेत्रमा उनी एक व्यावसायिक मोडलको रुपमा स्थापित भएका छन् । गत महिनामा मात्र उनि अभिनित ‘मेरो साथी’ र ‘आज तिम्रो सम्झनाले’ बोलको गीतको भिडियो सार्वजनिक भएको थियो ।
बाल्यकालदेखि नै नृत्य तथा अभिनयमा औधी रुचि भएका नायक, मोडल रोहित जोशी आफ्नो रुचीमा पारिवारिक सहयोग समेत प्राप्त भएकोले यो यात्रा आज सफलताको सुखद् विन्दुसम्म आइपुगेको छ ।
केही चलचित्र र दर्जनौ भिडियोमा अभिनय गरिसकेका जोशीलाई आम दर्शकहरुले साउथ इण्डियन हिरोको लुक्स को रुपमा हेर्ने गरेका छन् । कलाकारसंगै उनी एक व्यवसायी पनि हुन् ।
अतिरिक्त पेशा जे गरेपनि अनि जहाँ रहेपनि अभिनय, नृत्य र भिडियो मोडलिङलाई निरन्तरता दिईरहने उनी बताउँछन् । उनि अभिनित पछिल्लो भिडियो हिमाल सागरको स्वर, शब्द तथा संगीत रहेको ‘कस्तो माया’ बोलको भिडियोलाई धौलागिरी क्यासेट सेन्टरले बजार ब्यवस्थापन गरेको छ ।
