भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ। कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गई दैनिक ५० हजार भन्दा कम संक्रमित फेला परिरहेका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा ९०७ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ९७ हजार ६६८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३७ हजार ३७ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड ३ लाख १५ हजार ९१० जना पुगेको छ । हालसम्म २ करोड ९३ लाख ५९ हजार २ सय ८ कोरोना संक्रमित निको भइसकेका छन् ।
भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ ।
