काठमाडौं— नेपाली सौन्दर्यकला र उद्यमशीलताको क्षेत्रमा विशिष्ट पहिचान बनाएकी एपी ब्युटी सलुनकी प्रमुख तथा वरिष्ठ सौन्दर्यविद् अफ्सना नेवा हायु ‘ग्लोबल स्टार अवार्ड २०२५’ मा सर्वोत्कृष्ट सौन्दर्यकर्मी को रूपमा सम्मानित भएकी छिन्।
दक्ष इन्टरनेशनलको आयोजनामा नेपाल पुलिस क्लबको ब्लु पाभेलियनमा भव्य रूपमा सम्पन्न सो समारोहमा उनी ईभेन्ट डाइरेक्टरको भूमिकामा समेत सक्रिय थिइन्। उनको दीर्घ योगदान, उद्यमशीलता, रोजगारी सिर्जना, प्रशिक्षणमार्फत दक्ष जनशक्ति उत्पादन तथा समाजमा सौन्दर्य चेतनाको प्रवर्द्धन गरेबापत सो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो।
सम्मान समारोहमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र संघीय सांसद डा. चन्द्र भण्डारी प्रमुख अतिथि थिए भने अन्य विशिष्ट अतिथिमा पूर्व मन्त्री दीपेन्द्र श्रेष्ठ, बागमती प्रदेश सांसद सुनील केसी, पूर्व मन्त्री परशुराम तामाङ, राष्ट्रिय सभा सदस्य विष्णु सापकोटा, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, वरिष्ठ संगीतकार एवं गायक शम्भुजित बासकोटा, तथा आयोजक अध्यक्ष टेकराज पाण्डे सहभागी थिए। सम्मान पत्र, माला सहित अफ्सनालाई भव्य सम्मान प्रदान गरिएको थियो।
सौन्दर्य क्षेत्रमा अफ्सनाको योगदान
अफ्सना नेवा नेपाली सौन्दर्यकला क्षेत्रमा एक अग्रणी नाम हुन्। उनी भक्तपुरको सूर्यविनायकमा सञ्चालनमा रहेको एपी ब्युटी सलुन तथा हालै विस्तार गरिएको युनिसेक्स सलुन मार्फत हजारौं ग्राहकको मन जित्न सफल छिन्।
उनको नयाँ सलुनको उद्घाटन चर्चित अभिनेत्री एवं संचार उद्यमी एलिजा गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उक्त युनिसेक्स सलुनमा पुरुष र महिलाका लागि अत्याधुनिक मेकअप, हेयर स्टाइलिङ, स्किन केयर, थेरापी लगायतका नयाँ सेवा प्रणालीहरू सुरु गरिएको छ। उद्घाटनको अवसरमा केही सेवामा ३० प्रतिशत छुट समेत प्रदान गरिएको जानकारी अफ्सनाले दिइन्।
तालिममार्फत दक्ष जनशक्ति उत्पादन
व्यवसायमात्र होइन, अफ्सनाले सौन्दर्य शिक्षाको प्रवर्द्धनमा समेत सक्रिय भूमिका खेलिरहेकी छिन्। उनले आफ्नै संस्थामार्फत मेकअप, हेयर डिजाइन, स्किन ट्रीटमेन्ट, पार्लर व्यवस्थापनलगायत डिप्लोमा तहसम्मका तालिमहरू सञ्चालन गर्दै आएकी छन्। थुप्रै युवतीहरूलाई स्वरोजगार र उद्यमशीलताको बाटोमा डोर्याउन सफल भएकी छिन्।
सान्दर्भिक आयोजकको रुपमा पनि परिचय
सौन्दर्य क्षेत्रमा मात्र होइन, अफ्सना “मिस हिमालयन” र “मिसेस हिमालय आइकन” जस्ता प्रतिस्पर्धात्मक कार्यक्रमहरूको आयोजकका रूपमा समेत परिचित छिन्। यसै क्रममा उनले सौन्दर्य प्रतियोगिता र समाजसेवामार्फत महिला सशक्तिकरणमा समेत टेवा पुर्याएकी छिन्।
अफ्सना नेवा हायु एउटा नाममात्र नभई प्रेरणा पनि हुन् — सौन्दर्य सेवा, उद्यमशीलता, रोजगारी सिर्जना, र सामाजिक सेवाको संगम बनेकी एक अग्रगामी नेपाली महिला। उनीजस्ता उद्यमीहरूलाई ग्लोबल स्टार अवार्ड जस्ता सम्मानले अझ प्रेरणा दिन्छ, नेपाली सौन्दर्यकला क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा उभ्याउने बाटोमा थप बल पुर्याउँछ।
